१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलबार दिउँसो ३ बजे बोलकबोल

१०  अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलबार दिउँसो ३ बजे बोलकबोल thumbnail
Views

काठमाडौं, ७ असार । नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८४ ‘च’ बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन बिक्री गर्न लागेको विकास ऋणपत्रको अवधि ६ वर्षको रहेको छ ।

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यो ऋणपत्रमा असार ८ गते मंगलबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।

जसअनुसार २०७८ असार ९ गते जारी मिति तोकिएको यस ऋणपत्र २०८४ असार ९ गते परिपक्व हुनेछ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने छन् । गैरप्रतिस्पर्धीलाई १५ प्रतिशत र प्रतिस्पर्धीलाई ८५ प्रतिशत हिस्सा छुट्टाइएको छ ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिकरुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने बैंकले जनाएको छ।

यस्तै ब्याजदर र बाँडफाँट बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ।

घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

विकास ऋणपत्र