संकटमै भाटभटेनी ग्रुपको छलाङः ईटहरीमा १ अर्ब लागतको आउटलेट, दशैं अघि नै सञ्चालनमा

View

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसकै समयमा भाटभटेनी ग्रुप व्यापार विस्तारमा आक्रामक बनेको छ । महामारीको समयमा अन्य उद्योगी व्यवसायीहरु सुस्त बनिरहेको अवस्थामा भाटभटेनीका संञ्चालक मिनबहादुर गुरुङ भने यही समयमा व्यापार विस्तारमा छलाङ मारिरहेको हुन् ।

उनले कोरोनाकालमै ईटहरीमा एक अर्ब रुपैयाँ लागतमा हालसम्मकै ठूलो भाटभटेनी आउटलेट निर्माण गरेका छन् । भाटभटेनी ग्रुपका चिफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलका अनुसार भाटभटेनी ग्रपले ईटहरीमा १ अर्ब रुपैयाँको लागतमा नयाँ डिपार्टमेण्टल स्टोर निर्माण गरेको हो ।

‘हामीले कोरोनाकै समयमा ईटहरीमा हालसम्मकै ठूलो भाटभटेनी आउटलेट निर्माण गरेका छौं, जहाँ स्वेदशी र विदेशी सामानहरु पाइन्छन्, यो हालसम्मकै ठूलो क्षमताको आउटलेट हुनेछ, दशैं अगाडि नै सञ्चालनमा तयारी गरिरहेका छौं, उनले विकासन्युजसँग भने ।

ईटहरी मात्रै होइन पूर्वका सम्पूर्ण ग्राहक र बोर्डर नजिक पर्ने भारतीय ग्राहकलाई लक्षित गरेर हालसम्मकै ठूलो आउटलेट निर्माणको प्रक्रिया गरेको उनको भनाई छ । उनका अनुसार ईटहरीको भाटभटेनीमा स्वदेशी उत्पादित वस्तु र कतिपय भारतीय प्रडक्टहरु पनि पाइनेछन् ।

यस्तो बन्नेछ ईटहरीको आउटलेट

हालसम्मकै ठूलो क्षमताको ईटहरीको भाटभटेनी ५ तलाको हुनेछ । सो आउटलेटभित्र सिनेमा हलहरु, केफएसी, पिज्जा रेष्टुरेण्ट लगायतका सुविधा भएको भवन हुनेछ । जहाँ ग्राहकहरुले आफुले रोजेको सामान र सुविधा पाउन सक्नेछन् ।

सीओओ पौडेलका अनुसार सो आउटलेटमा ‘चिल्ड्रेन प्ले एरिया’ पनि हनेछ । ‘केही नयाँ सोचको साथ हामीले ईटहरीको भाटभेटनी आउटलेट बनाएका छौं, जहाँ सबै किसिमका सुविधाहरु ग्राहकले पाउनेछन्, नयाँ स्वाद दिनको लागि ईटहरी आउटलेटले महत्वपूर्ण भूमीका खेल्नेछ भन्ने आशा हामीले गरेका छौं, यो एउटा ट्रायल पनि हो,’ उनले भने ।

निर्माण भइरहेको भाटभटेनी ईटहरी बजारभन्दा ४÷५ किलोमिटर टाढा रहेको पौडेलले बताए । उनका अनुसार १ बिघा १५ कठ्ठा जग्गामा सो भवन निर्माण गरिएको हो । गाडी पार्किङको पनि राम्रो व्यवस्था भएको उनको भनाई छ । एउटै भवनमा ग्राहकले धेरै किसिमका सेवा सुविधाहरु पाउन् भन्ने मानसिकता र अवधारणले ईटहरीमा नयाँ भाटभटेनी आउटलेट खोल्ने तयारी भइरहेको उनले बताए ।

७ सय बढीले रोजगारी पाउने

हालसम्मकै ठूलो क्षमताको रुपमा स्थापना हुने ईटहरी आउटलेट मार्फत ७ सयदेखि एक हजार जना मानिसले रोजगारी पाउने सक्नेछन् । हालसम्म देशका विभिन्न ठाउँमा भाटभटेनी डिपार्टमेन्ट खोलर हजारौं मानिसलाई रोजगारी दिँदै आएको भाटभटेनी ग्रुपले ईटहरीको आउटलेट मार्फत पनि १ जनासम्म मानिसले रोजगारी पाउनेछन् ।

सीओओ पौडेलले भाटभटेनी ग्रुपले आफ्नो व्यापार व्यवसाय मात्रै हेर्ने नभएर स्थानीयहरुको जीवनस्तर सुधार र उनीहरुको जीवनशैली सहज गर्नका लागि महत्वपूर्ण भूमीका खेलिरहेको बताए ।

‘हामीले विजनेस मात्रै हेर्दैनौं, समाजको विकास र उनीहरुको जीवनशैलीमा सुधार गर्नको लागि पनि काम गर्छौं, त्यसैले पनि सबेको रोजाईमा अहिले भाटभटेनी र यसको प्रडक्टहरु परेको छ,’ उनले भने ।

उनका अनुसार हालसम्म ६ हजार बढी मानिसले भाटभटेनीमार्फत रोजगारी पाएका छन् । भाटभटेनी ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि धेरै काम गरेको उनको भनाई छ ।

चालु आवमै थप ५ स्टाेर खोल्ने तयारी

भाटभटेनी ग्रुपले चालु आर्थिक वर्ष भित्रै काठमाडौंका दुई ठाउँमा भाटभटेनीका थप डिपार्टमन्टलहरु खोल्ने भएको छ । सीओओ पौडेलका अनुसार काठमाडौं उपत्यकाको टोखा र सानागाउँमा चालु आव भित्रै नयाँ डिपार्टमेन्टलहरु सञ्चालनमा आउनेछन् ।

यस्तै, काठमाडौं उपत्यका बाहिर पनि भाटभटेनीका थप डिपार्टमेन्टलहरु निर्माण भइरहेका छन् ती आउटलेटहरुलाई पनि चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी भाटभटेनी ग्रुपको छ । भाटभटेनी ग्रुपका सञ्चालक गुरुङले विभिन्न ठाउँका डिपार्टमेन्टलहरु शिलन्यास पनि गरिसकेका छन् ।

उपत्यका बाहिरका हेटौंडा, धनगढी र बिरगञ्जमाा पनि चालु आवभित्रै नयाँ डिपार्टमेन्ट सञ्चालनमा आउने बताइएको छ । हाल अहिले देशभर भाटभटेनीका १८ वटा स्टोर सञ्चालनमा छन् ।

दैनिक उपभोग्यवस्तुदेखि ग्राहकले खोजका सबै सामानहरु एकै ठाउँमा पाइने भएकोले पनि भाटभटेनीको लोकप्रियता बढ्दो छ ।
टंगालबाट सुरु भएको भाटभटेनी सुपरस्टोर उपत्यकाभित्र बौद्ध, भक्तपुर, कोटेश्वर, महाराजगञ्ज, कलंकी, अनामनगर, त्रिपुरेश्वर, पुल्चोक, बालाजु र सातदोवाटोमा सञ्चालनमा छन् । यस्तै, उपत्यकाबाहिर धरान, बुटवल, भैरहवा, पोखरा, चितवन, विराटनगर र नेपालगञ्जमा सञ्चालनमा छन् ।

गत आवमा २२ अर्बको कारोबार

भाटभटेनी ग्रुपले गत आर्थिक वर्ष २०७७/७८ मा देशभरका १८ वटा स्टोरहरु मार्फत २२ अर्ब रुपैयाँ कारोबार गरेको छ । सीओओ पौडेलका अनुसार भ्याट बानहेक भने १९ अर्ब रुपैयाँ कारोबार भए