बजेटको रिस मौद्रिक नीतिमाथि

Views

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलले बजेटको रिस मौद्रिक नीतिमाथि फेरेका छन् । आर्थिक विषय र नीतिगत निरन्तरताको लागि राजनीतिक दलहरु संवेदनहिन बन्दा सरकारले लिने प्रमुख आर्थिक नीतिहरु बजेट र मौद्रिक नीति दुबै अन्योलमा परेका हुन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ गते र मंसिर ३ गते मध्यावधी निर्वाचन गर्ने निर्णय गरेका थिए । सरकारको सो निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

तर, प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचन गर्ने सरकारको निर्णय गैरसंवैधानिक भएको भन्दै सर्वाेच्च अदालतमा रिट परेको थियो । सो रिटमाथि सुनुवाई गर्दै सर्वाेच्चले गत असार २८ गते प्रतिनिधिसभा पुनस्थापना गरेको थियो । सर्वाेच्चको सो आदेश अनुसार गत असार २९ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

तर, ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी गत जेठ १५ गते अध्यादेश मार्फत चालु आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको थियो । पूर्ववर्ती सरकारले अध्यादेश मार्फत ल्याइएको सो बजेट परिमार्जन गर्ने बर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले बताइसकेका छन् ।

‘नयाँ सरकार बनेको छ, नयाँ सरकारका योजना र कार्यक्रमहरु हुन्छन्, त्यसलाई समेटेर बजेट अध्यादेश परिमार्जन गर्ने योजना बनाएका छौं,’ अर्थमन्त्री शर्माले मन्त्री बनेपछिको पहिलो पत्रकार सम्मेलनमा भनेका थिए ।

पूर्ववर्ती सरकारले अध्यादेश मार्फत बजेट ल्याएपछि सो बजेट अनुकुल हुने गरी नेपाल राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । तर, अर्थमन्त्री शर्माले ‘महाशाखा प्रमुखहरुसँग छलफल बाँकी रहेको’ भन्दै राष्ट्र बैंकलाई तत्काल मौद्रिक नीति ल्याउन रोकेका थिए ।

ओली नेतृत्वको सरकारले ल्याएको बजेट परिमार्जन गर्ने तयारी वर्तमान सरकारले गरेपछि अहिले प्रमुख प्रतिपक्षी दल बनेको नेकपा एमालेले पनि सरकारलाई असहयोग गर्ने नीति लिएको देखिएको छ ।

वर्तमान सरकारले बजेट अध्यादेश परिमार्जन गर्न समय लाग्ने भएपछि भोलि (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको थियो । सरकारबाट ग्रिन सिग्नल पाएपछि गभर्नर महाप्रसाद अधिकारीले भोलि मौद्रिक नीति सार्वजनिक गरिने बताएका थिए ।

अर्थमन्त्रीको स्वीकृतिमा मौद्रिक नीति आउन लागेको र बजेट परिमार्जन हुने करिब पक्का भएपछि ओली निकट एमाले नेताहरुले त्यसमा समस्या सिर्जना गर्ने दाउपेच खोजेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भनेकै दिन अर्थसमितिले मौद्रिक नीतिबारे आन्तरिक छलफल गर्न भन्दै बैठक बोलाएको छ । समिति सभापति ओली निकट एमाले नेता कृष्णप्रसाद दाहाल छन् ।

‘चालु आर्थिक वर्षको मौद्रिक नीतिका बारेमा आन्तरिक छलफल गरी आवश्यक निर्देशन दिनको लागि भोलि (शुक्रबार) ११ बजे अर्थसमितिको बैठक बोलाएका छौं, यसमा अर्थमन्त्रालय, राष्ट्र बैंक जस्ता सरोकारवाला निकायलाई बोलाइएको छैन, समितिको आन्तरिक छलफल हो, छलफलपछि आवश्यक निर्देशन दिइन्छ,’ समिति सभापति दाहालले विकासन्युजसँग भने ।

सभापति दाहालले मौद्रिक नीतिका बारेमा विशेष गरेर २ विषयमा निर्देशन दिइने जानकारी दिए । मौद्रिक नीतिले आर्थिक बृद्धिदरलाई कसरी सहयोग पुर्याउँछ वा पुर्याउनु पर्छ भन्ने विषयमा र कोभिड महामारीको कारण समस्या परेका उद्यम व्यवसायलाई कसरी राहत दिने भन्ने विषयमा आन्तरिक छलफलपछि आवश्यक निर्देशन दिइने सभापति दाहालको भनाई छ ।

उनले भोलिको बैठकका बारेमा अर्थमन्त्रालय वा नेपाल राष्ट्र बैंकसँग कुनै छलफल नभएको पनि बताए ।

‘हामीले उहाँहरु (अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक) लाई बोलाएका छैनौं, आन्तरिक छलफल हो, उहाँहरुलाई नबोलाएको भएकोले उहाँहरुसँग छलफल गर्नै परेन, आन्तरिक सल्लाह गरेर बैठक बोलाइएको हो, धेरै लामो छलफल हुँदैन, भोलि नै निर्देशन दिन्छौं, अनि मौद्रिक नीति आउँछ होला,’ सभापति दाहालले भने ।

सभापति दाहालले राजनीतिक कारणले मौद्रिक नीतिमाथिको छलफलको समय भोलिका लागि तोकिएको भन्ने तर्कको खण्डन गरे ।

‘प्रतिनिधिसभा विघटन भएको अवस्था भएकोले बजेट बारे गहन छलफल गर्न पाइएन, अध्यादेश मार्फत बजेट आयो, अहिले प्रतिनिधिसभा छ, त्यसैले मौद्रिक नीतिका बारेमा छलफल गर्न लागेका हौं, यो हाम्रो (अर्थसमितिको) दायित्वभित्रको काम पनि हो,’ उनले भने ।

सर्वाेच्च अदालतको निर्णयपछि गत असार २८ गते प्रतिनिधिसभा पुनस्थापना भएपछि सरकारले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाएको थियो । प्रतिनिधिसभा बैठक नबसेको समयमा पनि संसदीय समितिको बैठक बस्न सक्छ । तर, नयाँ सरकारको सहमति पाएर राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने मिति अनौपचारिक रुपमा तय गरिसकेको दिन पारेर अर्थसमितिले बैठक राख्नुले बजेटको रिस मौद्रिक नीतिमाथि फेरिएको स्पष्ट हुन्छ ।

अर्थसमितिले हिजो (बुधबार) मौद्रिक नीतिको बारेमा नेप