१० दिनसम्म होम क्वारेन्टिनमा बस्नेलाई १० केजी चामल र २ केजी दाल दिन्छौं – गाउँपालिका अध्यक्ष मल्ल

Views

अहिले विश्व नै कोभिड १९ महामारीको चपेटामा छ । नेपालमा पनि कोरोना भाइरसको महामारी फैलिएको धेरै समय भइसकेको छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण सुदूरपश्चिम प्रदेश अन्तर्गतको बाजुरा जिल्लामा पर्ने हिमाली गाउँपालिका पनि नराम्रोसँग प्रभावित बनेको छ । यस गाउँपालिकामा चाहिँ फाट्टफुट्ट रूपमा संक्रमितहरु देखापर्ने क्रम जारी नै छ ।

यस्तै गाउँपालिकाले आगामी आर्थिक वर्ष ७८/७९ को लागि कस्तो नीति तथा कार्यक्रम ल्याएको छ, साथै कुनकुन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ, आजका दिनमा कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले कस्तो काम गर्दै आएको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् :

अहिले कोरोनाका कारण विश्व आक्रान्त भइरहेको छ, कोरोना रोकथाम तथा न्यूनीकरणको लागि पालिकाले के गरिरहेको छ ?

विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । यस भाइरसले पालिकामा पनि अप्ठ्यारो अवस्थाको सिर्जना गरेका छ । पालिकामा हालसम्म १ सय जना संक्रमित भएका छन् । संक्रमणको संख्या बढ्दै जाँदा हामीले गाउँपालिकाको केन्द्रमा कोभिड अस्पताल पनि तयार गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै पालिका कोरोना संक्रमण नियन्त्रणको अभियानमा छ । हामीसँग भएको स्रोत साधनको परिचालन गरी यस महामारीलाई नियन्त्रण गर्नको लागि गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेको छ । पालिकाका धेरै मानिसहरुले परीक्षण गर्न नमानी रहेको अवस्था छ । परीक्षण गर्न नमानेपछि हामीले जबरजस्ती गर्ने कुरा पनि भएन । जसजसले परीक्षण गर्न मान्छन् उनीहरूको परीक्षण हामीले निःशुल्क नै गर्दै आएका छौं ।

कोभिड नियन्त्रण र बिरामीको उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा स्वास्थ्यकर्मीको पनि पालिकाले व्यवस्थापन गरेको छ । गाउँपालिकामा उपचार हुन नसक्ने अवस्थाका संक्रमितलाई अन्य अस्पतालमा रेफर गर्नको लागि निःशुल्क एम्बुलेन्स सेवाको सुचारु गरेका छौं । पालिका भित्र बिरामीहरूको उपचार हुन नसको खण्डमा नेपालगञ्ज, धनगढी आदि कुनै ठाउँ जानुपर्याे भने पालिकालाई सम्पर्क गर्नुहोस् भनेका छौं । कोभिडका बिरामीहरूलाई पालिकाले तयार गरेको आइसोलेसनमा राखेर निःशुल्क सेवा दिइरहेका छौं । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने काम गर्दै आएको छ । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दागर्दै पनि पालिका भित्रका ३ जना नागरिकहरूलाई कोरोनाकै कारण गुमाएका छौं । हाल पनि हामी महामारी नियन्त्रण गर्नका लागि खटिरहेका छौं ।

पछिल्लो समयमा पालिकामा स्वास्थ्य सामाग्रीको अभाव भएको छ कि छैन ?

पछिल्लो समयमा पालिकाका स्वास्थ्यचौकीमा स्वास्थ्य सामाग्रीको अभाव छैन । सुरुसुरुमा सबैतिर अक्सिजन तथा स्वास्थ्य सामाग्रीको चरम अभाव भइरहेको अवस्थामा हाम्रो पालिकामा पनि स्वास्थ्य सामाग्री र अक्सिजनको अभाव भयो । पालिकालाई २ ओटा अक्सिजन कन्सन्ट्रेटरको पनि सहयोग मिलेको छ भने नागरिक समाजले पनि २ ओटा अक्सिजन सिलिन्डर पालिकालाई उपलब्ध गराएको छ । गत वर्ष पालिकाले ३ ओटा सिलिन्डर खरिद गरेको छ । कोभिडका बिरामीहरूलाई अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिन्डरहरू भरेर तयारी अवस्थामा राखेका छौं । गतवर्ष हामीले बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएका थियौैं । तर, यो वर्ष क्वारेन्टिन स्थापना गर्ने तथा जनसमुदायमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने खालको वातावरण बनेन ।

कोरोनाको समयमा बाहिर जिल्लामा बसोबास गर्ने मानिसहरू पालिका भित्र प्रवेश गरेकाले पनि संक्रमणले अलिक बढि फैलिने अवसर पाएको हो । गत वर्ष पालिकाका कोही पनि नागरिकहरू संक्रमित भएका थिएनन् भने पालिकामा प्रवेश गर्ने नाकामा हेल्थडेस्कको पनि स्थापना गरेका थियौं । दोस्रो लहरको कोरोना भाइरसको प्रभाव र संक्रमितको संख्या गाउँपालिकामा बढ्दै जाँदा हामीले मास क्वारेनटिनलाई भन्दा होम क्वारेनटिनलाई नै जोड दिएका छौं । कोरोनाको संक्रमण देखिएका बिरामीलाई अस्पतालमा ल्याई उपचार गर्नुका साथै उनीहरूलाई निःशुल्क बस्ने तथा खाने व्यवस्था समेत पालिकाले मिलाएको छ । विभिन्न संघसस्थाबाट पनि पालिकालाई स्वास्थ्य सामाग्रीको सहयोग मिलेको छ ।

कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौती के छन् ?

चुनौती र समस्या त धेरै नै छन् । हाम्रो जस्तो दुर्गम क्षेत्रको लागि यातायातको समस्या नै ठूलो समस्या हो भन्ने मैले बुझेको छु । पालिकामा बर्षायामको सुरुवातसँगै धेरै ठाउँमा बाढि पहिरो, भूक्षयको बढि प्रकोप हुने गर्छ । बिरामीहरूलाई एक गाउँबाट अर्को गाउँ लानको लागि बाटो छैन । सबै ठाउँमा बाढि पहिरोले बाटोहरू क्षतविक्षेत बनाएको छ, हवाई यातायात पनि छैन । हेलिकप्टरबाट उद्धार गरेर बिरामीको उपचार गर्ने वातावरण पनि छैन । पालिकामा धेरै ठुला अस्पताल छैन भने आवश्यक जनशक्तिको पनि अभाव छ । कोरोनाले समस्या बानाइरहेको समयमा बाढि पहिरोले अर्को तिर फेरी समस्या थपिरहेको छ । सडकहरू बाढिका कारण अवरुद्ध भएपछि खाद्यान्नको पनि अभाव हुने ठहर छ । यो समयमा स्वास्थ्य सामाग्री र अक्सिजनको व्यवस्थापन गर्न पनि समस्या छ । हाम्रो जस्तो दुर्गम स्थानीय तह समस्या नै समस्याले भरिएको छ । हाल पालिकामा संक्रमितको संख्या नियन्त्रण हुँदै गएको छ । यसरी नै नियन्त्रण हुँदै गयो भने त केही भएन, फेरी कोरोनाले भयावह रूप लियो भने धेरै ठुलो समस्या हुने पक्का छ । गाउँपालिका कोरोना देखि लिएर बाढि पहिरोको समेत उच्च जोखिममा भएको हुनाले विपत् व्यवस्थापनलाई बढी फोकस गरिरहेका छौं ।

कमजोर आर्थिक अवस्था भएकाहरूको लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनु भएको छ ?

गत वर्ष पनि हामीले पालिका स्तरबाट राहतका कार्यक्रमहरू ल्याएका थियौं । रोगले भन्दा पनि भोकले मानिसलाई ग्रस्त बनाउने अवस्था भएपछि वडा र स्वास्थ्यको सिफारिस अनुसार हामीले राहत दिनेछौं । कोरोनाको संक्रमण पुष्टि भएपछि मानिसलाई हामीले होम क्वारेन्टिनमा बस्नको लागि आग्रह गरेका छौं । एकजना मानिस १० दिनसम्म होम क्वारेन्टिनमा बस्यो भने १० केजी चामल र २ केजी दाल दिने भनेर हामीले निर्णय गरेका छौं । १० दिनसम्म पनि होम क्वारेन्टिनमा बस्ता कोरोनासँग अन्तरसम्बन्धित लक्षण देखिएन भने स्वतह निको भएको मान्ने भनिएको छ । एउटै घरका परिवारका धेरै व्यक्तिहरू संक्रमित भए र ओड्ने आछ्याउनेको समस्या भयो भने हामीलाई खबर गर्नुहोस् र खबर गरे अनुसार हामी उपलब्ध गराउँदै पनि आएका छौं । दैनिक मजदुरी गरेर खाने, दैनिक ज्यालामा काम गरेर खानेहरूको घरमा चुलो निबेको अवस्थामा हामीले के गर्न सक्छौ भन्ने हिसाबले राहतका कार्यक्रमहरू पनि सञ्चालन ग¥यौं ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष ७८/७९ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । तपाईंको कार्यकालको यो बजेट अन्तिम पनि हो । के कस्ता कार्यक्रम समेटिएका छन् बजेटमा ?

हामीले पनि आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट सार्वजनिक गरेका छौं । गाउँपालिकाले स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र रोजगारीलाई बढी प्राथमिकता दिएर बजेट ल्याएका छ भने आगामी आर्थिक वर्षमा कोभिड महामारीबाट गाउँपालिकाका बासिन्दाको जीवन रक्षा गर्दै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य बजेटले लिएको छ । ठूलाठूला पूर्वाधारमा योजना छन् तिनीहरूलाई नै निरन्तरता दिने भनिएको छ । गाउँपालिकाले बजेटको स्रोतको मुख्य अंशका रूपमा चालु आर्थिक वर्षमा खर्च नभएर मौज्दात हुने रकमलाई पनि राखेका छन् । ४ ओटा सामुदायिक अस्पताल निर्माण गर्नको लागि आवश्यक बजेटको विनियोजन गरेका छौं ।

संघीयता कार्यान्वयनसँगै स्थानीय तहले नेतृत्व सम्हाल्नुभएको ४ वर्ष पुरा भएको छ र तपाईंहरु कार्यअवधिको अन्तिम चरणमा पनि हुनुहुन्छ, यो अवधिमा पालिका भित्र के कति काम गर्नुभयो र कस्ता परिवर्तन पालिकामा आए ?

हो, लामो समय पछि संघीयता आएको र स्थानीय तहको नेतृत्व सम्हालेको पनि करिव ४ वर्ष पुगिसकेको छ भने हामी अन्तिम वर्षको कार्यकालको दौरानमा छौं । हाम्रो पालिकाले जिल्लाको ४० प्रतिशत भूगोल ओगटेको छ । हामी निर्वाचित भएर आइसक्दा पालिकामा केही पनि थिएन । टेलिफोन नभएको कारण फोन संम्पर्क गर्नको लागि अन्य ठाउँ जानु पर्थियो र बिजुलीको सुविधा पनि थिएन । तर, सामान्य सोल्लरको व्यवस्था भने थियो । खाने पानीको अभावले कुवा खोलाको पनि बोकेर खानु पर्ने अवस्था थियो । हाल हामीले ९९ घर परिवारलाई सार्वजनिक धारा बनाएर खाने पानीको सेवा पुर्याएका छौं । स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाएर अगाडि बढ्ने लक्ष राखेका छौं । कक्षा सञ्चालन भएका तर शिक्षकको दरबन्दी नभएका विद्यालय धेरै थिए । सञ्चालन भएको ४ देखि ५ वर्ष भएका माध्यमिक विद्यालयमा शिक्षको अभाव थियो । पालिकाको तर्फबाट ५० जना स्वयम सेवाको रूपमा शिक्षक नियुक्त गरेका छौं । न्यूनतम ८ कक्षासम्मका आधारभूत विद्यालयमा शिक्षक अनिर्वय हुनुपर्ने व्यवस्थापन गरेका छौं । पालिकाको सबै वडामा स्वास्थ्य चौकीको स्थापना गर्न सफल भएका छौं ।

खेती बालि नहुने सुख्खा र जङ्गल नै जङ्गल भएको, भिर पाखो भएको भूगोल हाम्रो छ । खोति योग्य जमिन नभएको हुनाले कृषिको लागि ठुलो लगानी गरेर खाद्य सुरक्षाका लागि वृक्ष रोपण कार्यक्रम बनाएका छौं । २ वर्ष भित्रमा ८० हजार फलफूलका बिरुवा रोप्न कृषकलाई अनुरोध गरेका छौं । फलफूलका बिरुवा रोपेर जगाए बापत प्रति व्यत्ति ५ केजी चामल दिने ५ वर्ष कार्यक्रम हाम्रो रहेको छ । कृषकहरुले बिरुवा रोपी सकेपछि हामीले १७ सय कुइन्टल चामल वितरण गरयौं । एक बोट बिरुवा रोपेर जगाए वापत ५ केजी चामल दिने भनेका छौं । चामल दिए पछि कृषकहरु सक्रिय भएर बोट जोगाउन लागिपरेका छन् । हामीले चामाल सबैलाई बाढेर सबै जना खुसी पनि भएका छन् । बिरुवा सबैले रोप्न पनि तयार भएका छन् । ५ जना परिवार भएकालाई २० बोट बिरुवा अनिवार्य रोप्न लगाउने गरेका छौं । यो वर्ष पनि हामीले यसलाई निरन्तरता दिएका छौं । पालिका भित्र धेरै लगानीमा कृषिका कार्यक्रमहरू सञ्चालन भइरहेको छ ।

यस्तै शिक्षा क्षेत्रमा ठुलो परिवर्तन आएको छ भने धेरै विद्यालयका भौतिक संरचनाको पनि निर्माण भएका छन् । प्रत्येक विद्यार्थीलाई पुस्तक वितरण गर्ने वातावरण बनाएका छौं गाउँपालिक